माल्टामा नेपालीहरु बीच फुटबल प्रतियोगिता हुने भएको छ । अक्टोबार २१ (कार्तिक ४ गते) शनिबार विहान साढे ९ बजेदेखि खेलहरु सञ्चालन हुनेछन् । खुकुरी फुटबल क्लबको आयोजनामा फष्ट खुकुरी कप हुन लागेको हो । प्रतियोगितामा १६ वटा टिम सहभागि हुदैछन् ।
भ्यालिट्टाको खेलमैदानमा खेलहरु हुनेछन् । लिगचरणमा हुने खेलमा एक टिमले ३ खेल खेल्नुपर्नेछ । आइतबार क्वाटर, सेमी र फाइनल चरणका खेलहरु हुने खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । उनका अनुसार विजेतालाई २ हजार ५ सय युरो, उपविजेतालाई १ हजार ५ सय युरो नगद पाउनेछन् । यस्तै ट्रफि, मेडल प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, धेरै गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पनि मेडल तथा आकर्षक पुरस्कार दिइनेछ । प्रतियोगितामा ग्रुप ए मा खुकुरी फुटबल क्लब, पूर्वाञ्चल फुटबल क्लब, एमटी एभरेष्ट, युनिटी फुटबल क्लब, ग्रुप बी मा तामाङ फुटबल क्लब, लालिगुरास फुटबल क्लब, रुपन्देही फुटबल क्लब, टिम डाइनामिक रहेका छन् ।
यस्तै ग्रप सी मा झापा फुटबल क्लब, एनएम फुटबल क्लब, अल स्टार फुटबल क्लब, ड्रिमलजिक रहेका छन् । यस्तै ग्रुप डी मा एनएम फुटबल क्लब ए, नेपाल सोसाइटी, जुम्पाक फुटबल क्लब, योङ व्वाइज क्लब रहेका छन् । उद्घाटन खेल खुकुरी फुटबल क्लब र एमटी एभरेष्ट क्लबबीच हुनेछ । खेलको नकनक कम्पनीका सिइयो अफनान आरिफले उद्घाटन गर्नेछन् । रोजगारीका लागि माल्टा आएका देशका विभन्न क्लबमा आवद्ध खेलाडीहरु मिलेर प्रतियोगितामा भाग लिन लागेका छन् ।
प्रतियोगितामा ए, बी, सी डिभिजनमा भाग लिएका राष्ट्रियस्तरका खेलाडीहरु पनि सहभागि हुदैछन् । यस्तै महिलाहरुबीच पनि मैत्रीपूर्ण खेलहरु हुनेछन् । खुकुरी क्लब ३ वर्ष पहिले स्थापना भएको थियो । सन् २०२१ म एनएम फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता टिम हो । यस्तै सन् २०२२ मा एनआरएनए रनरअप भएको क्लब हो । खेलको समापन कार्यक्रम आइतबार साँझ ६ बजे हुनेछ । समापन कार्यक्रममा मगर, तमु लगायतका समुदायका मौलिक नृत्यहरु पनि प्रस्तुत हुनेछन् ।