माल्टा लगाएत युरोपेली मुलुक पठाइदिने भन्दै ठगेको अभियोग लागेका २ जनालाई थुनामा राख्न आदेश

Share:

मार्च ७, काठमाडौं /वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिने भन्दै रकम ठगी गरेका विकास वाइबा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध ३ सय ३७ जनाको किटानी जाहेरी परेको र पाँच करोड ५० लाख रुपैयाँ भन्दाबढी रकम हिनामिनामा संलग्न होइन भन्न नमिल्ने भन्दै पुर्पक्षकालागि पठाउने आदेश गरेको हो ।

यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरि पाउँ भनी लक्ष्मण कटुवालसमेत तीन सय ३७ जनाको किटानी जाहेरी परेकामा अनुसन्धानको क्रममा कागज गर्ने इन्द्रमाया गुरुङ समेतले जाहेरी दिएका थिए ।

यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सी विकास वाइवाको नाउँमा दर्ता भएको तर वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र नलिएको पाइएको छ । विदेश जानका लागि प्रक्रियामा पैसा लाग्ने भन्दै सानिमा विकास बैंक र एनएमबी बैंकको खातामा पाँच करोड ५१ लाख १४ हजार ५१० रुपैयाँ जम्मा गर्न लगाइएको पीडितहरूले बयान दिएका थिए ।

पीडितको उजुरीपछि नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ती गाडीलाई नियन्त्रणमा लिएको थियो ।

Share:

सम्बन्धित समाचारहरू