माल्टामा ‘अन्जिला’ मार्च २९ तारिख आउने

Share:

माल्टा नेपाल अनलाइन
यहि मार्च  २९ तारिख माल्टा स्थित इडेन सिनेमासमा  फिल्म ‘अन्जिला’ प्रदर्शनमा आउने भएको छ ।

नेपाली महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बाको बायोपिक फिल्म ‘अन्जिला’ मार्च २९ तारीख  शनिबार बेलुका १०:४५ बजे  देखि माल्टामा प्रदर्शनमा आउन लागेको मग्वार्ट प्रोडक्सनका संयोजक गणेश लामिछानेले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका छन् । उनका अनुसार फिल्मबाट मुनाफा नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई सहयोगको स्वरूप प्रदान गरिने छ ।  त्यसैले चलचित्र हेरेर सहयोग गर्नका लागि  सम्पुर्ण माल्टाबासी नेपालीहरुमा  मग्वार्ट प्रोडक्सनका संयोजक लामिछानेले अनुरोध गरेका छन् । फिल्म हेर्नका लागि तल दिएको लिङ्कलिङ्कमा क्लिक गरेर समेत  टिकट लिन सकिने लामिछाने बताउछन् ।
विभिन्न बस्तुका डल्लो बनाएर फुटबल खेल्न थालेदेखि राष्ट्रिय महिला फुटबल टिमको कप्तान हुँदासम्म अन्जिलाले भोग्नु परेको दुःख र संघर्षलाई फिल्ममा देखाइएको छ । फिल्ममा स्वयं अन्जिलाले मुख्य भूमिका निर्वाह गरेकी छन् । यो फिल्म कप्तान अन्जिलाले भोगेका घटना र संघर्षको कथा भएको फिल्मका निर्देशक मिलन चाम्सले बताए । पत्रकार  सम्मेलनका क्रममा बोल्दै निर्देशक चाम्सले फिल्ममा करिब ९० प्रतिशत दृश्य अन्जिलाले भोगेका घटना र संघर्ष रहेको बताएका थिए ।
खेलप्रेमी दर्शक र खेलाडीहरुले फिल्म ‘अन्जिला’ छुटाउनै नहुने उनी बताउँछन् । ‘यो फिल्म सफल भएमा खेलसम्बन्धी अन्य फिल्म बनाउन फिल्मकर्मीहरु उत्साहित हुनेछन् । भारतमा धेरै बायोपिक फिल्म सफल भएका छन्, नेपालमा भने बायोपिक फिल्महरु नगन्य छन्’, उनले भने । यद्यपि, फिल्म सफल हुने/नहुने भन्ने कुरा उसको भाग्यमा भर पर्ने उनले बताए ।
यो फिल्म बनाउने क्रममा फुटबलको विषयमा आफूले धेरै अध्ययन गरेको उनको भनाइ छ । ‘अन्जिलाले भोगेका धेरै कुराहरु हामीले फिल्ममा राख्न सकेनौँ । अन्तर्राष्ट्रियस्तरमा देशकै बेइज्जत हुने कुरालाई फिल्ममा राखेनौँ’, उनले भने । फिल्ममा राष्ट्रिय महिला टिमका अन्य खेलाडीहरुलाई पनि देख्न सकिने उनी बताउँछन् । आफूले निर्देशन गरेको बायोपिक फिल्ममध्ये यो तेस्रो फिल्म भएको उनले सुनाए ।
प्रेमकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्मको कथा यस थापाले लेखेका हुन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा मुन लभ इन्टरटेनमेन्टको सहकार्य रहेको फिल्ममा अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरूङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहेको छ ।
२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी अन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरू गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । पछिल्लो समय नेपालमा महिला फुटबलको क्रेज बढ्दो छ ।

Share:

सम्बन्धित समाचारहरू