माल्टा नेपाल अनलाइन डेस्क,
माल्टा / चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार सांगीतिक कार्यक्रमको लागि आउँदो शनिबार, ९ अगस्ट माल्टा आउँदैछिन्। नेपालका प्रिय गायिकामध्येकी एक परियारले युरोप भ्रमणको सुरुआत माल्टाबाट गर्ने भएकी छन्।
यस कार्यक्रमको आयोजना एनएमबी ब्यान्डले गरेको छ भने मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस. ईन्टरटेन्मेन्टले संयुक्त रूपमा युरोपमा वितरणमा गरेका हुन्।
एनएमबी ब्यान्डका संचालक बिजय परियारका अनुसार “चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले आउँदो शनिबार, ९ अगस्ट २०२५ मा माल्टाको जिरा क्षेत्रस्थित ओर्फियम थियटरमा भव्य लाईभ प्रस्तुति दिनेछिन्। यस साँझ गायिकाले आफ्ना लोकप्रिय र भावनात्मक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नेपाली संगीतको मिठासमा मग्न गराउनेछिन्।”
कार्यक्रमको शुरुआत एनएमबी ब्यान्डको ऊर्जाशील प्रस्तुतीबाट हुनेछ। भने सो कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूको विविध सांगीतिक प्रस्तुति पनि रहनेछ। जसले सांगीतिक माहोललाई अझ उत्कृष्ट बनाउने संचालक परियार बताउँछ ।
कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ र त्यही समयदेखि दर्शकहरूको प्रवेश खुला गरिनेछ। प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ भने इच्छुक दर्शकहरूले अनलाइन टिकट पनि सजिलै सुरक्षित गर्न सक्नेछन्।
आयोजकहरूका अनुसार, यो सांगीतिक साँझ केवल मनोरञ्जनमात्र नभई नेपाली समुदायबीच एकता, सांस्कृतिक पहिचान र गौरवको अभिव्यक्ति बन्नेछ। ‘एक साँझ, हजारौँ यादहरू’ भन्ने नारासहित आयोजना गरिएको यस कार्यक्रमले नेपाली समुदायका बीच आपसी सम्बन्धलाई अझ सशक्त बनाउने अपेक्षा राखिएको छ।
शान्तिश्री परियार लगायतका कलाकारहरूको सुमधुर स्वरमा नेपाली संगीतको आत्मा महसुस गराउने यो अवसर सबै नेपाली संगीतप्रेमीका लागि विशेष हुनेछ। यति उत्कृष्ट कार्यक्रमको संयोजन भने म्यानेजर गगन पोखरेलले गरेका छन् ।