माल्टामा किरात याक्थुङ चुम्लुङ स्थापनाको थालनी, अगस्ट १० मा औपचारिक भेला हुँदै

Share:

माल्टा नेपाल अनलाइन डेस्क
माल्टा/ किरात याक्थुङ चुम्लुङको स्थापनाको लागि माल्टामा पहिलो औपचारिक भेला आगामी अगस्ट १०,आइतबार,टोपाज होटल, बुगिब्बामा आयोजना हुने भएको छ। कार्यक्रम दिउँसो १२:०० बजेदेखि ५:०० बजेसम्म सञ्चालन हुने भयको छ ।

याक्थुङ (लिम्बु) समुदायको हक, हित, पहिचानको संरक्षण, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने तथा मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक माल्टामा यस्तो ऐतिहासिक भेला आयोजना गरिने भएको कार्यक्रम संयोजक दर्शन लिम्बुले जनाए ।

कार्यक्रम संयोजक लिम्बुका अनुसार “यही भेलाबाट किरात याक्थुङ चुम्लुङ माल्टाको प्रारम्भिक संरचना निर्माण गरिनेछ र कार्यसमिति चयन गर्ने तयारी गरिएको छ।” माल्टामा छरिएर बसोबास गरिरहनु भएका याक्थुङ समुदायबीच संस्थागत संरचनामार्फत एकता, पहिचान र सहकार्यलाई बलियो बनाउने लक्ष्यसहित हामी अगाडि बढिरहेका छौं।”

उक्त भेलामा माल्टा तथा गोजोमा बसोबास गर्नुहुने सम्पूर्ण याक्थुङ (लिम्बु) दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले हार्दिक आह्वान गरेका छन्। कार्यक्रममा समुदायको साझा चिन्ताहरू, संस्थागत योजनाहरू तथा आगामी मार्गचित्रबारे छलफल हुने बताइएको छ।
भेलामा सहभागिता जनाउन चाहने वा थप जानकारी लिन चाहने व्यक्तिहरूले प्रकाश लिम्बु +35677560525, दर्शन लिम्बु +35699934586, सञ्जय लिम्बु,+35699474905 मा सम्पर्क गर्न सकिने जनाइएको छ।

किरात याक्थुङ चुम्लुङको अन्तर्राष्ट्रिय विस्तार क्रमसँगै प्रवासमा रहेका याक्थुङ समुदाय पनि संगठित हुँदै गएको परिप्रेक्ष्यमा माल्टाको यो प्रयास समुदायका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। युरोपका अन्य मुलुकहरूमा जस्तै, माल्टामा पनि याक्थुङहरूको आवाजलाई संस्थागत रूपमा अघि बढाउने हेतुले यो भेला ऐतिहासिक मानिएको छ।
यो कार्यक्रम संस्थागत संरचना निर्माणको थालनी लगाएत प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो जरा, भाषा, संस्कृति र पहिचानप्रति जोड्ने महत्वपूर्ण अवसर पनि संयोजक लिम्बुले माल्टा नेपाल अनलाइनलाई बताए ।

Share:

सम्बन्धित समाचारहरू